Skip to main content

Sky Media Nepal

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै।

जलेश्वर।
सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ। मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आजको दिन विशेष गरी मिथिलाञ्चलमा धूमधामले खरना पर्व मनाउने परम्परा रहेको छ।

खर्ना पर्वको अवसरमा मिथिलामा व्रतालु महिलाहरु दिनभर निर्जल एवं निराहार उपवासी बसेर साँझमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गर्दै सूर्य भगवान र छठी मातालाई चैती छठ पर्वको निम्तो दिन्छन्। जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकका अनुसार, खरना पर्वको दिन व्रतालु महिलाहरु साँझमा घरघरमा पूजा गरेर प्रसाद चढाउने चलन रहेको छ।

व्रती महिलाहरु खरना पर्व मनाइसकेपछि राति अरवा अरबाईन (विना नुन हालेको) खानेकुरा मात्रै खाने गर्दछन्, जसमा खीर, पुरी, केरा लगायतका सामग्री समावेश हुन्छन्। चार दिनसम्म विभिन्न धार्मिक विधिहरु गर्दै मनाइने यो पर्व मिथिलाञ्चलका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतीय भूभागका मिथिलाञ्चल क्षेत्रहरुमा धूमधामका साथ मनाइन्छ।

पर्वको पहिलो दिन मङ्गलबार व्रतीहरुले नहा’ खा अर्थात नुहाएर खाने अर्थात जीऊ चोख्याउने काम गरेका थिए भने पर्वको दोस्रो दिन आज बुधबार खर्ना मनाइरहेका छन्। षष्ठी र चैती छठ पर्वको मुख्य दिन बिहीबार साँझ व्रतीहरुले गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी त्यसबाट बनाइएका गुलियो खाद्य सामग्री जस्तै ठकुवा, भुसवा, खजुरीया, पेरुकिया लगायतका पकवान र फलफूल सहित सूर्यको आराधना गर्न छठ घाटसम्म पुग्नेछन्।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउँदा दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अर्घ अर्पण गर्ने गर्दछन्। सप्तमीका दिन, शुक्रबार बिहान पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गरिन्छ।

पौराणिक कथाअनुसार, द्रौपदीसहित पाण्डवहरुले अज्ञातवासका क्रममा सूर्यदेवको आराधना गरेको उल्लेख छ, र सोही समयमा मिथिलाको किरात राजाका क्षेत्रहरुमा छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ। सूर्य पुराणका अनुसार, पहिलो पटक पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन्, जसका कारण उनलाई अटल सौभाग्य र परिप्रेम प्राप्त भएको मानिन्छ। त्यस समयदेखि छठ गर्ने परम्परा शुरु भएको विश्वास गरिएको छ।

धार्मिक आस्थाका साथै सामाजिक सदभावको रूपमा फैलिएको छठ पर्व हिन्दु धर्मका श्रद्धालुहरुले मात्र नभइ मुस्लिम समुदायका मानिसहरुले पनि मनाउने गर्दछन्। यस पर्वमा चढाइने पदार्थको संख्या ७० पुर्‍याउनु पर्छ भन्ने मान्यता छ, तर चढाउने सामर्थ्य नभएका व्यक्तिहरुले गम्हरी धानको चामल मात्र चढाए पनि देवता प्रसन्न हुने विश्वास गरिएको छ।

यस पर्वको उद्देश्य पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोग मुक्ति र विभिन्न मनोकाङ्क्षा पुरा गर्नको लागि श्रद्धा र भक्ति गरेर सूर्य देवता र छठी माताको पूजा अर्चना गर्नु हो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *