बिर्तामोड ।। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिनुभयो ।
हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताउनुभयो ।
हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा विजेता र उपविजेतलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगितमा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित शाहले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब सात लाख खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष शाहले बतआउनुभयो ।
प्रतियोगिताको खेल तालिका अनुसार मंसिर २३ गतेबाट पौष ३ गतेसम्म भद्रपुरस्थित ग्यालेक्सी स्कुलमा पुरुष फुटबल हुने छ ।
यस्तै पुरुष भलिबलतर्फ पौष १० देखि १३ गतेसम्म ग्लोबल एजेकेशन एकेडेमीमा हुने बताईएको छ भने महिलातर्फ आदर्श कलेजको खेलकुद मैदानमा १४ र १५ गते हुने छ ।
प्रतियोगितामा एभरेष्ट स्कुल भद्रपुर, मनकामना कलेज बिर्तामोड, धुर्वतारा स्कुल दुधे, वान्डरलेन्ड स्कुल केचना, प्रज्वल एकेडेमी गौरादह, चिल्ड्रेन गार्डेन स्कुल जलथल, प्रजिता स्कुल दमक, झापा मोडल स्कुल दमक, कोहेड कलेज बिर्तामोडको सहभागिता रहने हिसान झापाका सचिव हुमागाईंले जानकारी दिनुभयो ।